दफा १३
जग्गाको फाँटवारी दाखिल गर्ने
(१) तोकिएको अधिकारीले तोकिए बमोजिम सूचना जारी गरी अधिकतम हदभन्दा बढी जग्गा हुने जग्गावालाहरूलाई सो सूचना जारी भएको मितिले ३५ दिन भित्र तोकिए बमोजिमको फाँटवारी दाखिल गर्न गराउन आदेश दिन सक्नेछ । तर –
(क) सम्बन्धित व्यक्तिको निवेदन परी वा अरू कुनै मनासिव कारणले म्याद बढाउन पर्ने देखिएमा सो म्याद गुज्रेको मितिले ३५ दिनसम्मको थप म्याद तोकिएको अधिकारीले दिन सक्नेछ ।
(ख) कुनै सरकारी कर्मचारी वा विदेशमा गएका व्यक्तिले म्यादभित्र फाँटवारी दाखिल गर्न सकेको रहेनछ भने त्यस्तो व्यक्तिले म्याद बढाउन निवेदन दिएमा नेपाल सरकार वा तोकिएको अधिकारीले आवश्यक ठानेमा थप म्याद दिन सक्नेछ ।
(ग) ……………………..
(१क) उपदफा (१) बमोजिम फाँटवारी दाखिल गर्दा जग्गावालाले जग्गावाला वा मोहीको हैसियतले आफ्नोे वा आफ्नोे परिवारको नाममा नेपाल…………मा रहेको सम्पूर्ण जग्गाको विवरण एउटै फाँटवारीमा खुलाई आफ्नोे जग्गा रहेको कुनै एक जिल्लामा मात्र दाखिल गर्नु पर्नेछ ।
(२) उपदफा (१) र (१क) बमोजिमको फाँटवारी दाखिल गर्नु गराउनु प्रत्येक जग्गावालाको कर्तव्य हुनेछ । त्यस्तो फाँटवारी परिवारको हकमा सो परिवारको मुख्यले र नावालक वा होश ठेगाना नभएको जग्गवालाको हकमा निजको अभिभावक वा हकवालाले दाखिल गर्नुपर्छ ।
(२क) भोग वा दृष्टिबन्धकी जग्गाका हकमा साहू वा आसामी मध्ये कुनै एक पक्षले मात्र फाँटवारी पेश गरेमा पनि यस दफाको तात्पर्यको लागि त्यस्तो जग्गाको सम्बन्धमा फाँटवारी पेश भएको मानिनेछ ।
(३) एक वा एक भन्दा बढी क्षेत्रमा दफा ७ बमोजिम राख्न पाउने अधिकतम हदभन्दा बढी जग्गा हुने जग्गावालाले यस दफा बमोजिम फाँटवारी पेश गर्दा त्यस्तो जग्गा मध्ये कुन जग्गा राख्ने र कुन जग्गा छोड्ने भन्ने कुरा समेत सो फाँटवारीमा खुलाउनुपर्छ ।